Logo

१७ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बाख्राको मासुलाई खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बिक्री गर्ने मासु पसलेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

पछिल्ला केही दिनयता वीरगञ्जका विभिन्न मासु पसलहरूमा बाख्राको मासुलाई खसी वा बोकाको मासु भनेर भ्रामक तरिकाले बिक्री भइरहेको जनगुनासो बढेपछि महानगरपालिकाले यस विषयमा ध्यानाकर्षण जनाएको हो।

बिहीबार महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधि तुरुन्त बन्द गर्न निर्देशन दिँदै उल्लङ्घन गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता तथा व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीको दायित्व भएको उल्लेख गर्दै मासुको सही पहिचान खुलाएर पारदर्शी रूपमा मात्र बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

महानगरपालिकाले कुनै पनि किसिमको गलत सूचना, मिसावट वा भ्रामक गतिविधि नगर्न/नगराउन कडाइका साथ निर्देशन दिएको छ। सूचनाको उल्लङ्घन गरी गैरकानुनी कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।


सम्बन्धित समाचार