Logo

१८ बैशाख, काठमाडौँ । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिनसमेत सरकारी अस्पतालका बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) र बुद्ध जयन्तीको बिदामा समेत देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएपछि संघले यसलाई ‘अवैज्ञानिक र अव्यावहारिक’ भन्दै तत्काल फिर्ता लिन माग गरेको हो ।

संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा बिहीबार जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक वर्गकै हिस्सा भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसका दिन उनीहरूलाई काममा लगाउनु अन्यायपूर्ण भएको उल्लेख छ। “अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अन्य पेसाकर्मीसरह बिदा दिने प्रचलन छ, त्यसैले बिदाका दिनमा ओपिडी सञ्चालन गर्न बाध्य पार्नु चिकित्सकमाथिको अन्याय हो,” विज्ञप्तिमा भनिएको छ ।

चिकित्सक संघले अस्पतालमा उपलब्ध सेवाहरूको वर्गीकरण गर्दै ओपिडी सेवा अत्यावश्यक (इमर्जेन्सी) सेवाभित्र नपर्ने स्पष्ट पारेको छ । “इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिनमा पनि हामीले निरन्तर दिँदै आएका छौँ, तर ओपिडी सेवा एक-दुई दिन बन्द रहँदा सेवाग्राहीलाई खासै ठुलो असर पर्दैन,” संघले भनेको छ। चाडपर्व वा अन्य बिदाका बेला लगातार ३ दिन वा सोभन्दा बढी बिदा पर्न सक्ने भन्दै मन्त्रालयको निर्णयले स्वास्थ्यकर्मीको मनोबल घटाउने संघको ठहर छ ।

संघले मन्त्रालयको यो निर्देशनलाई अविलम्ब खारेज गरी स्वास्थ्यकर्मीको बिदाको अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिएको छ । विशेष गरी श्रमिक दिवसका दिन ओपिडी सेवा बन्द राखी सम्पूर्ण स्वास्थ्यकर्मीलाई बिदाको उपभोग गर्न दिनुपर्ने संघको माग छ। मन्त्रालयको एकतर्फी निर्णयले गर्दा सरकारी अस्पतालहरूमा सेवा प्रवाहको वातावरण थप तनावपूर्ण बन्ने र चिकित्सकहरूले विरोधका कार्यक्रम गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने संकेत संघले गरेको छ ।

मन्त्रालयले भने सेवाग्राहीको चाप र सुलभ स्वास्थ्य सेवालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारको यो कदमले स्वास्थ्य प्रशासन र चिकित्सक संघबीच पुनः एकपटक तिक्तता बढाएको छ ।


सम्बन्धित समाचार