Logo

१९ वैशाख,काठमाडौं । अमेरिकी कम बजेटको एयरलाइन्स कम्पनी स्पिरिट एयरलाइन्स आर्थिक संकटका कारण पतनको संघारमा पुगेको छ। आवश्यक सरकारी आर्थिक सहयोग प्राप्त गर्न असफल भएपछि कम्पनीको भविष्य अनिश्चित बनेको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले एयरलाइन्सलाई बचाउन करदाताको पैसाबाट सहयोग गर्न “अन्तिम प्रस्ताव” अघि सारेको भए पनि सम्झौता नजुट्दा योजना अघि बढ्न सकेन।

रोयटर्सका अनुसार कम्पनी अब बन्द हुने तयारीमा रहेको बताइएको छ। यद्यपि कम्पनी वा अमेरिकी प्रशासनबाट यसबारे आधिकारिक प्रतिक्रिया आएको छैन।

रिपोर्टअनुसार स्पिरिट एयरलाइन्स पछिल्ला दुई वर्षमा दोस्रो पटक दिवालियापन प्रक्रियामा प्रवेश गरेको हो। यसपटक भने कम्पनीले सञ्चालन नै स्थगित गर्ने सम्भावना देखिएको छ।

कम्पनीका वकिल मार्शल ह्युबनरले एयरलाइन्स बन्द भएमा करिब १७ हजार रोजगारी प्रभावित हुने चेतावनी दिएका छन्।

कोभिड–१९ महामारीपछि नै आर्थिक दबाबमा रहेको स्पिरिट एयरलाइन्स उच्च सञ्चालन लागत, बढ्दो ऋण र इन्धन मूल्य वृद्धिका कारण थप संकटमा परेको हो।

कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ अमेरिकी डलर नाघेपछि इन्धन खर्च बढ्दा एयरलाइन्सको घाटा थपिएको बताइएको छ। यसैबीच, केही एयरलाइन्सहरूले इन्धन मूल्य नियन्त्रणका लागि सरकारलाई अपीलसमेत गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै