Logo

२० वैशाख, काठमाडौं । यस वर्षको मनसुन सुरुवाती चरणमा केही कमजोर रहने र देशका अधिकांश भू(भागमा औसतभन्दा कम वर्षा हुने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ देखि साउन १५ सम्मको समय तुलनात्मक रूपमा सुख्खा रहने देखिएको हो । वैशाख महिनाभरि वर्षा भएर केही राहत मिले पनि मुख्यगरी धान खेती गर्ने समयमै पानी कम पर्ने प्रक्षेपणले अहिले किसान र कृषि विज्ञहरूलाई निकै चिन्तित बनाएको छ ।

यद्यपि, नेपालको मौसमी अवस्थाबारे आधिकारिक जानकारी दिने निकाय जल तथा मौसम विज्ञान विभागले भने यस विषयमा अहिल्यै ठोस निष्कर्ष निकालिसकेको छैन ।

विभागले यसै साताको अन्तिमतिर मात्रै मनसुनको आधिकारिक प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हाल विश्वव्यापी रूपमा ‘एल निनोको प्रभाव देखिए तापनि नेपालको मनसुनलाई अन्य विभिन्न स्थानीय र क्षेत्रीय प्रणालीहरूले पनि प्रभाव पार्ने भएकाले मनसुन कस्तो हुन्छ भनेर अहिल्यै ठोकुवा गर्न मिल्ने अवस्था छैन ।

मौसमविद्हरूका अनुसार विश्वव्यापी दुईवटा मुख्य मौसमी प्रणालीका कारण यसपालि मनसुनमा केही फेरबदल आउन सक्ने अनुमान गरिएको हो ।


सम्बन्धित समाचार