Logo

२० वैशाख, काठमाण्डौं । रुकुम पश्चिमको मुसिकोट–१०, खर्सुपानीमा आज एउटा भिन्नै माहोल थियो । शहीद कामी बुढाको स्मृतिमा निर्मित पार्क उद्घाटन गर्न पुगेका नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’का शब्दहरूमा क्रान्तिको अधुरो तिर्सना र भविष्यको स्पष्ट मार्गचित्र झल्किन्थ्यो ।

उनले उपस्थित जनसमुदायलाई साक्षी राख्दै भावुक तर दृढ शैलीमा भने-क्रान्तिको सपना अझै पूरा भएको छैन, यो यात्रा बीचमै रोकिएको छैन ।

प्रचण्डका अनुसार, हिजोका बलिदानीका सपनाहरूलाई मूर्त रूप दिन छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरू अब एउटै केन्द्रमा समाहित हुनुको विकल्प छैन। उनले हालै निर्माण भएको नेकपा (नयाँ पहल) लाई समाजवादतर्फको नयाँ प्रस्थानविन्दु मान्दै बाँकी रहेका अन्य कम्युनिस्ट समूहहरूलाई पनि चाँडै एकताको मूलधारमा ल्याउने उद्घोष गरे ।

प्रचण्डको जोड केवल कम्युनिस्ट एकतामा मात्र सीमित थिएनः उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि व्यापक सहकार्यको खाँचो समेत औँल्याए ।

शान्ति सम्झौता र संविधानसभाको जगमा उभिएका सबै राजनीतिक दलहरूलाई एउटै कित्तामा उभ्याएर मुलुकलाई अगाडि बढाउने उनको रणनीति देखिन्छ। समाजवादको यात्रालाई थप व्यवस्थित र सुदृढ बनाउनका लागि ऐतिहासिक परिवर्तनका पक्षधरहरू मिल्नुपर्नेमा उनले विशेष जोड दिए ।

रुकुमको यो माटोबाट उनले फेरि एकपटक राजनीतिक शक्तिहरूलाई सन्देश दिएका छन् ।
परिवर्तनका बाँकी कार्यभार पूरा गर्न र शहीदका सपनालाई न्याय गर्न अबको बाटो ‘एकीकृत शक्ति र साझा लक्ष्य ’ नै हो ।


सम्बन्धित समाचार