२१ बैशाख, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अमानवीय र क्रूर दुर्व्यवहारको घटना सार्वजनिक भएको छ । स्थानीय समाजमा लामो समयदेखि जरो गाडेर बसेको अन्धविश्वास र कुप्रथाको सिकार बन्दै कटहरिया–९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलियादेवी मुसहरनीमाथि मानव मलमूत्र खुवाइएको छ ।
छिमेकी पुकार माझीको घरमा आयोजित विवाह समारोहमा पर्साबाट आएका जन्ती पक्षका एक १० वर्षीय बालक अचानक बिरामी परेर बान्ता गरेपछि स्थानीय केही व्यक्तिले त्यसको दोष अंकलियादेवीलाई दिएका थिए । शनिबार साँझ १५ देखि २० जनाको आक्रोशित समूहले अन्धविश्वासको आधारमा ‘जादूटुना गरेको’ आरोप लगाउँदै अंकलियादेवीको घर घेराउ गरेको थियो ।
पीडितकी छोरी सुमिला देवीका अनुसार, उक्त समूहले आमालाई जबरजस्ती नियन्त्रणमा लिएर बियरको बोतलमा घोलेर ल्याइएको मानव मलमूत्र खुवाएको हो। “हामीले प्रतिकार गर्ने प्रयास गर्दा समूहले घरका अन्य सदस्यहरूमाथि पनि कुटपिट ग¥यो,” छोरी सुमिलाले रुँदै भनिन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर पीडित महिलाको उद्धार गरेको थियो । प्रहरीले उनलाई उद्धार गर्दा उनी अचेत अवस्थामा थिइन् । तत्काल उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । “यो एक जघन्य अपराध हो । कानुन हातमा लिने कसैलाई पनि छुट छैन । घटनामा संलग्नहरूको पहिचान भइसकेको छ र उनीहरूविरुद्ध कडा कारबाही प्रक्रिया अघि बढाइएको छ,” डीएसपी आचार्यले भने ।
सभ्य समाजको दाबी गरिए पनि तराईका ग्रामीण भेगमा अहिले पनि बोक्सीको आरोपमा महिलामाथि हुने यस्ता जघन्य हिंसात्मक घटनाले राज्यको सुरक्षा र सामाजिक चेतनाको स्तरमाथि गम्भीर प्रश्न उठाएको छ । पूर्व वडा सदस्यजस्तो सम्मानित पदमा रहेकी महिला नै यस प्रकारको अमानवीय कुप्रथाको सिकार हुनुले स्थानीय प्रशासन र सरोकारवाला निकायले सामाजिक कुरिति अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः एकपटक उजागर गरेको छ ।


















