२१ बैशाख, काठमाडौँ । पश्चिम बंगालको सत्तामा लगातार १५ वर्षदेखि एकछत्र राज गरिरहेकी मुख्यमन्त्री ममता बनर्जीको राजनीतिक भविष्य र भाजपाको ‘ऐतिहासिक’ सत्तायात्राको निर्णय आज हुँदैछ ।
बंगालका २९३ सिटमा भएको मतदानको गणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । हुलाक मतपत्रको गणनासँगै खुल्ने ईभीएमका अंकगणितले दिउँसो १ बजेसम्ममा बंगालको नयाँ राजनीतिक तस्बिर स्पष्ट गर्नेछ ।
यसपटक तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) दुवैले बहुमतको सिट कटाउने दाबी गरिरहेका छन् । तर, सार्वजनिक भएका ८ मध्ये ६ वटा एक्जिट पोलले ममता बनर्जीको सरकार ढल्ने र भाजपाले सत्ताको बागडोर सम्हाल्ने प्रक्षेपण गरेका छन् । चुनावमा ९२.४७ प्रतिशतको ऐतिहासिक मतदान हुनुले सत्ताविरोधी लहरलाई बलियो संकेत गरेको कतिपय विश्लेषकहरूको मत छ ।
यस पटकको चुनावमा मतदाता नामावलीबाट करिब ९१ लाख नाम हटाइनुले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । यसलाई नागरिकताको त्रास वा प्रशासनिक कसरत जे मानिए पनि मतदान प्रतिशतमा देखिएको यो उछाल निर्णायक सावित हुने देखिन्छ । ममता बनर्जीले आफ्नो साख जोगाउन ‘लक्ष्मीर भण्डार’ र ‘कन्याश्री’ जस्ता महिलाकेन्द्रित योजनामा भर परेकी छिन्, जसका कारण पुरुषको तुलनामा महिला मतदाता १.५ प्रतिशतले बढी देखिएका छन् । अर्कोतर्फ, भाजपाले शिक्षक भर्ती घोटाला, भ्रष्टाचार र महिला सुरक्षालाई मुख्य चुनावी हतियार बनाएको छ ।
हिंसाको इतिहास बोकेको बंगालको चुनाव यसपटक तुलनात्मक रूपमा शान्तिपूर्ण देखिएको छ । सन् २०२१ को चुनावमा ५८ जनाको ज्यान गएको कहालीलाग्दो विगतलाई बिर्साउँदै यसपटक झडपका घटना भए पनि मानवीय क्षति नहुनुलाई बंगालको लोकतन्त्रमा एक सकारात्मक संकेत मानिएको छ । सन् २०१६ मा केवल ३ सिट जितेको भाजपा २०२१ मा ७७ सिटसहित मुख्य विपक्षीको रूपमा उदय भएको थियो ।
आजको मतगणनाले भाजपा आफ्नो उक्त ग्राफलाई सत्ताको सिँढीसम्म पुर्याउँछ वा ममता बनर्जी चौथो पटक विजयको ‘ह्याट्रिक’ सहित इतिहास दोहोर्याउँछिन्, त्यो हेर्न बाँकी छ।


















