Logo

२१ वैशाख, काठमाडौँ । नेपाल र चीनबीचको दौत्य सम्बन्ध ७०औँ वर्षमा प्रवेश गरेको विशेष अवसर पारेर चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले मुलुकको सार्वभौमिकता र परराष्ट्र नीतिका विषयमा आफ्नो साझा धारणा सार्वजनिक गरेका छन् ।

सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले लिम्पियाधुरा क्षेत्रका सम्बन्धमा नेपाल सरकारले हालै लिएको अडानको स्वागत गरेका हुन् ।

उनीहरूले लिम्पियाधुरा नेपालको अभिन्न भू(भाग भएको तथ्यलाई पुनस् स्मरण गराउँदै छिमेकी मुलुकहरू चीन र भारतले नेपालको भौगोलिक अखण्डता र संवेदनशीलतालाई सम्मान गर्ने विश्वास व्यक्त गरेका छन् ।

वक्तव्यमार्फत पूर्वकुटनीतिज्ञहरूले केवल वक्तव्यमा मात्र सीमित नभई आफ्नै भूमि रक्षाका लागि अविलम्ब र ठोस कूटनीतिक पहलकदमी लिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । वर्तमान विश्वमा बदलिँदो जटिल भू(राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुकूलको सन्तुलित र प्रभावकारी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

विशेष गरी नेपालले विगतदेखि नै अङ्गीकार गर्दै आएको ुएक चीन नीतिु र नेपाली भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने अडानमा नेपाल सदैव अडिग रहनुपर्ने कुरालाई उनीहरूले जोड दिएका छन् ।

छलफलका क्रममा पूर्वराजदूतहरूले नेपाल र चीनबीच भएका द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन पक्षमा पनि विशेष चासो देखाएका छन् । डा. महेश मास्केका अनुसार, बीआरआई लगायतका आर्थिक, सांस्कृतिक, शैक्षिक र विकाससँग जोडिएका परियोजनाहरूलाई गति दिनु अहिलेको आवश्यकता हो ।

यी परियोजनाहरूको शीघ्र कार्यान्वयनले दुई देशबीचको युगौँ पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउने साझा अभिमत पूर्वराजदूतहरूले प्रकट गरेका छन् ।


सम्बन्धित समाचार