Logo

२१ वैशाख,काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ। प्रारम्भिक नतिजा तथा रुझानहरूले विभिन्न राज्यमा प्रतिस्पर्धात्मक र कतिपय स्थानमा अप्रत्याशित राजनीतिक परिदृश्य देखाएको छ।

तमिलनाडुमा अभिनेता विजय नेतृत्वको नयाँ दल ‘तमिलगा भेत्री कझगम’ (टीभीके) ले उल्लेखनीय अग्रता लिँदै सत्ताको नजिक पुगेको देखिएको छ। कुल २३४ सिट रहेको यस राज्यमा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ। पछिल्लो रुझानअनुसार टीभीके १०५ सिटमा अगाडि छ भने कांग्रेस सम्मिलित एआईएडीएमके गठबन्धन ७६ सिट र भाजपा समर्थित डीएमके गठबन्धन ५१ सिटमा पछि परेको छ।

दशकौँदेखि द्रविड दलहरूको वर्चस्व रहेको तमिलनाडुको राजनीतिमा यो परिवर्तनलाई विश्लेषकहरूले ठूलो राजनीतिक ‘सुनामी’ का रूपमा व्याख्या गरेका छन्।

पश्चिम बंगालमा सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक रुझानमा भाजपाले १४७ सिटमा अग्रता बनाएको छ भने तृणमूल कांग्रेस १२७ सिटमा पछाडि परेको छ। बहुमतका लागि १४८ सिट आवश्यक भएकाले अन्तिम परिणामले नै सत्ता समीकरण निर्धारण गर्नेछ। यसबीच विभिन्न गणना केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

असममा मुख्यमन्त्री हिमन्त बिस्वा सरमाको नेतृत्वमा रहेको भाजपा गठबन्धनले स्पष्ट बहुमततर्फ अग्रसर हुँदै ९५ सिटमा अग्रता कायम गरेको छ। विपक्षी कांग्रेस गठबन्धन भने २७ सिटमा सीमित देखिएको छ।

केरलामा भने कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले ५९ सिटमा अग्रता लिँदा सत्तारुढ वामपन्थी गठबन्धन एलडीएफ ४१ सिटमा पछि परेको छ।

यसैगरी, केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ।

समग्रमा, प्रारम्भिक मतगणनाले दक्षिणदेखि पूर्वी भारतसम्म राजनीतिक शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ।


सम्बन्धित समाचार
भर्खरै