Logo

२२ वैशाख,वीरगञ्ज ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगन्ज चिनी कारखाना योजनाबद्ध रूपमा “हत्या” गरिएको गम्भीर आरोप लगाएका छन्।

मंगलबार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै सभापति अन्सारीले कारखाना बन्द हुनु सामान्य प्रक्रिया नभई चलखेल र षड्यन्त्रको परिणाम भएको दाबी गरे। उनका अनुसार वीरगन्ज चिनी कारखाना बन्द गरेर त्यसका कर्मचारी र किसानलाई ठूलो पीडा दिइएको छ, जबकि निजी चिनी उद्योगहरूले भने फाइदा उठाइरहेका छन्।

“कारखानाको हत्या भएको हो, यसको हत्याराहरू अझै बजारमै घुमिरहेका छन्,” अन्सारीले भने। उनले दोषी पत्ता लगाएर पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

अन्सारीले चिनी उद्योग क्षेत्रमा आर्थिक पक्षभन्दा बढी राजनीतिक प्रभाव हावी रहेको टिप्पणी गरे। उनले उद्योगीहरूले व्यापारीसँग अग्रिम रकम लिने तर किसानलाई उखुको भुक्तानी ढिलाइ गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

उनका अनुसार नेपालमा चिनी उत्पादन न्यून हुनुका साथै गुणस्तर पनि कमजोर छ, जसले बजारमा समस्या सिर्जना गरेको छ।

सभापति अन्सारीले औद्योगिक प्रदूषणलाई पनि गम्भीर समस्या भन्दै स्थानीय क्षेत्रमा क्यान्सर र स्ट्रोकजस्ता रोग बढिरहेको दाबी गरे। “बिहानको समयमा हावाको रंग नै कालो देखिन्छ, मन्त्रालयले तत्काल ध्यान दिनुपर्छ,” उनले भने।

उनले उद्योगहरूले सार्वजनिक जग्गा र खोलामाथि अतिक्रमण गरेको आरोप पनि लगाए। स्थानीय प्रशासन र सुरक्षा निकाय प्रभावकारी नभएको भन्दै उनले मन्त्रालयले विशेष टोली खटाएर अतिक्रमित संरचना हटाउनुपर्ने माग गरे।

त्यसैगरी, भन्सार नाकाहरूमा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्न एक्सरे स्क्यानर जडान गरी छिटो जाँच प्रणाली लागू गर्नुपर्ने सुझाव उनले दिएका छन्। यसले चोरी पैठारी नियन्त्रण हुने र व्यवसायीलाई सहजता मिल्ने उनको भनाइ छ।

सभापति अन्सारीले यी समस्याहरू समाधानका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र संसदीय समितिले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार