२३ वैशाख,वीरगञ्ज । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विशेष आर्थिक क्षेत्र (सेज) सिमराको जग्गा भाडा उल्लेखनीय रूपमा घटाएपछि उद्योग स्थापनाको लहर देखिएको छ। यसअघि प्रतिवर्ग मिटर २० रुपैयाँ रहेको भाडा घटाएर ५ रुपैयाँमा झारिएपछि मात्रै यस वर्ष झण्डै एक दर्जन नयाँ उद्योग निर्माणाधीन अवस्थामा पुगेका छन्।
सेज साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार हाल निर्माणाधीन उद्योगमध्ये आधाभन्दा बढीमा भारतीय र चिनियाँ लगानीकर्ता संलग्न छन्। ५ अर्ब रुपैयाँ लगानीको नेपोभिट सेरामिक्स प्रालि (भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त प्रयास) टायल र सेनिटरी सामग्री उत्पादन गर्ने तयारीमा छ।
त्यस्तै, दक्षिण कोरियाली लगानी रहेको केमेक्स हिमालय उद्योगले श्रृङ्गारका सामग्री उत्पादन गर्नेछ भने नेपाली–भारतीय संयुक्त लगानीमा रेम्बो ग्रेनाइट प्रालि र ओमकार प्रालिले ग्रेनाइट उत्पादन गर्नेछन्। इन्डो एग्रोले पाम तेल उत्पादन गर्नेछ भने चिनियाँ लगानीमा ग्याङ उइङ बायो टेक्नोलोजीले औषधिको कच्चा पदार्थ उत्पादन गर्ने योजना अघि बढाएको छ।
यसैगरी, नेपाली–चिनियाँ संयुक्त लगानीमा ला डी कर प्रालिले आल्मुनियम उत्पादन गर्नेछ। ओम मेगा श्री प्रालिले डाइपर र सेनिटरी प्याड उत्पादन गर्ने तयारी गरेको छ भने हुलास समूहअन्तर्गत हुलास केवल प्रालि तार उत्पादनमा केन्द्रित हुनेछ। ‘मा तारा प्रालि’ ले मसला उत्पादन गर्नेछ भने एभरेष्ट फेसन प्रालिले हस्तकला सामग्री उत्पादन गरी पूर्ण रूपमा निर्यात गर्ने लक्ष्य राखेको छ।
यी उद्योगहरू सञ्चालनमा आएपछि करिब १,००० जनालाई नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
यसअघि नै सेज सिमरामा ७ उद्योग सञ्चालनमा छन्। तीमध्ये पशुपति सेरामिक्स (टायल), ब्रिलिएन्ट शुज प्रालि (जुत्ता), लक्ष्मी ग्रेनाइट, बालाजी म्यानुफ्याक्चरिङ (पंखा, चुलो), नेपाल एग्रो टुल्स (कृषि उपकरण), चिनियाँ लगानीको एसियन भेहिकल्स (विद्युतीय सवारी) र बायो कम्प नेपाल (विश्व बैंकको सहयोगमा) सञ्चालनमा रहेका छन्। यी उद्योगहरूले हालसम्म करिब ७०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन्।
सरकारको भाडा घटाउने नीतिले औद्योगिक लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सरोकारवालाहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्।




















