Logo

२३ वैशाख,वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय सरोकारवाला निकायबीच समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण वीरगञ्जका प्रमुख एसपी मोहन बहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अभियानको पहिलो चरणअन्तर्गत तयारी अवस्था, कार्यान्वयन रणनीति तथा लागुऔषध नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार र पुनःस्थापनामा समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका सदस्य तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अभियान सफल बनाउन सबै पक्षबीच सहकार्य, जनचेतना अभिवृद्धि र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उक्त कार्यक्रमले पर्सा जिल्लामा लागुऔषध नियन्त्रण तथा सुधार अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार