२३ वैशाख,वीरगञ्ज । नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्जको संयुक्त आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ‘दुर्घटना न्यूनीकरण र बाल विवाह विरुद्ध सचेतना’ विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज–१४ स्थित मदरसा तोहिदुल इस्लाममा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो। महिला सेलतर्फबाट प्रहरी निरीक्षक सुनिता शर्माले सहभागिता जनाएकी थिइन्। कार्यक्रमको सहजीकरण तथा संयोजन दिलिप राज कार्कीले गरेका थिए।
कार्यक्रममा स्टार युथ क्लबका अध्यक्ष सम्साद अली अन्सारी, फुरकान एकेडेमीका निर्देशक जावेद इकबाल हैदर तथा महन्त रफिक अन्सारीलगायतको उपस्थिति रहेको थियो। विद्यालय तथा अभिभावकको तर्फबाट इमामुदिन अन्सारीले सक्रिय सहभागिता जनाएका थिए।
वक्ताहरूले दुर्घटना न्यूनीकरण र बाल विवाहजस्ता सामाजिक कुरीति अन्त्य गर्न समुदाय, प्रहरी र शैक्षिक संस्थाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
करिब ९५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियम पालना तथा बाल विवाहविरुद्ध सचेतना फैलाउने विषयमा जानकारी दिइएको थियो।


















