२३ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। बुधबार वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले यस्तो सर्वसम्मत निर्णय गरेको हो।
निर्णयअनुसार अब वडाभित्र हुने कुनै पनि सामाजिक वा निजी कार्यक्रम—जस्तै विवाह, भोज तथा अन्य उत्सवहरूमा भोजपुरी गीत बजाउन पाइने छैन। नियम उल्लङ्घन गरेमा कारबाहीसहित नगद जरिवाना गरिने वडाध्यक्ष यादवले जानकारी दिएका छन्।
त्यसैगरी, विवाहका जन्ती आएका बेला सम्बन्धित व्यक्तिको अनुमति बिना जन्तीमा प्रवेश गर्ने व्यक्तिलाई पनि कारबाही र जरिवाना गरिने निर्णय गरिएको छ।
गाउँ भेलाले वडाभित्र सञ्चालनमा रहेका मदिरा पसलहरू बेलुकी ८ बजेभित्रै बन्द गर्नुपर्ने, राति १० बजेपछि अनावश्यक रूपमा बाहिर हिँडडुल गर्न नपाइने तथा मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्न प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ। नियम उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने जनाइएको छ।
वडाध्यक्ष यादवका अनुसार पछिल्लो समय सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको, मदिरा सेवनपछि झगडा तथा अशान्ति फैलिने घटनाहरू बढेपछि गाउँको सामाजिक वातावरण जोगाउन यस्तो कदम चालिएको हो।
उक्त गाउँ भेलामा जनप्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा युवा वर्गको सहभागिता रहेको थियो।


















