२३ बैशाख, काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले प्रधानमन्त्री बालेन शाहलाई विगतका शक्तिशाली शासकहरूको असफलताबाट पाठ सिक्न कडा सुझाव दिएका छन् ।
बुधबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूसालले प्रधानमन्त्री शाहलाई शक्तिशाली हुँदैमा गल्ती गर्ने छुट नभएको र अहङ्कारले संकट निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।
भूसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै शक्तिमा हुँदा सल्लाह बेवास्ता गर्दाको परिणाम स्मरण गराए । ‘मैले २०७६ सालमै ओलीजीलाई उहाँको खुट्टा पछाडि फर्कन लागेको भन्दै सचेत गराएको थिएँ, तर उहाँले खिसी गरेर उडाउनुभयो,’ भूसालले भने,‘आजको नियति त्यसैको उपज हो। बालेन शाहले पनि इतिहासलाई गिज्याएर मात्र सन्तोष मान्ने हो भने उहाँको हालत पनि त्यस्तै हुनेछ।’
शक्तिशाली नेतृत्व असफल हुँदा त्यसको मूल्य सिङ्गो देश र नागरिकले चुकाउनुपर्ने भन्दै भूसालले चिन्ता व्यक्त गरे । बालेन नेतृत्वको सरकार असफल हुनु कसैका लागि खुसीको विषय नभई राष्ट्रिय डरको विषय भएको उनको तर्क थियो ।
उनले प्रधानमन्त्रीलाई आफ्नो व्यक्तित्व राष्ट्रको पूँजी भएको बुझ्न र समयमै सचेत भएर अघि बढ्न आग्रह गर्दै शक्तिमा उन्मत्त नहुन खबरदारी गरेका छन् ।


















