Logo

२३ बैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभाले निजी क्षेत्रको नेतृत्वमा नयाँ रक्तसञ्चार गर्दै अञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विधानको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतःअध्यक्ष बनेसँगै चन्द्रप्रसाद ढकालले नेतृत्व हस्तान्तरण गर्नुभएको हो । श्रेष्ठले आगामी तीन वर्षका लागि महासंघको कमान्ड सम्हाल्नुहुनेछ ।

निर्वाचनको अन्तिम नतिजाअनुसार जिल्ला÷नगर उद्योग वाणिज्य समूहतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै, वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ प्रबलजंग पाण्डेले उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ। नेतृत्वका लागि भएको यो लोकतान्त्रिक प्रतिस्पर्धामा विभिन्न समूहबाट पदाधिकारी र सदस्यहरू छानिएका छन्, जसले व्यावसायिक एकताको नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।

समावेशी र प्रादेशिक प्रतिनिधित्व
नयाँ कार्यसमितिमा सातै प्रदेशबाट प्रतिनिधिहरू चुनिएका छन् । कोशीदेखि सुदूरपश्चिमसम्मका उद्योगी व्यवसायीहरूले जिल्ला÷नगर र प्रदेश कोटाबाट कार्यसमितिमा स्थान पाएका छन्। यसपटक वस्तुगत समूहमा १३ जना र एसोसिएटतर्फ १७ जना सदस्यहरू निर्वाचित भएका छन् । साथै, गीता अमात्य, हिरा भट्टराई, सुनिता न्हेम्हाफुकी, अभिज्ञा मल्ल र जुना माथेमाजस्ता महिला उद्यमीहरूको प्रतिनिधित्वले महासंघलाई थप समावेशी बनाएको छ ।

भावी चुनौती र कार्यदिशा

अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकालमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनु र निजी क्षेत्रको खस्कँदो मनोबल उकास्नु मुख्य चुनौती रहनेछ । संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल निर्वाचित भएसँगै महासंघले पूर्णता पाएको छ ।

यो नयाँ टोलीले सरकारसँगको सहकार्य र लगानी मैत्री वातावरण निर्माणमा कस्तो भूमिका खेल्छ भन्नेमा उद्योगीहरूको विशेष चासो रहेको छ ।


सम्बन्धित समाचार