Logo

२३ वैशाख,वीरगञ्ज । २०७२ सालको मधेश आन्दोलनका क्रममा घाइते भएका ‘जिउँदो सहिद’ मंसी पटेल विगत १० वर्षदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमा पटक–पटक उपचार गराइरहनुभएको छ। तर लामो समयको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार हुन सकेको छैन।

वीरगञ्ज महानगरपालिका–२२ बगही निवासी ४५ वर्षीय पटेल आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते हुनुभएको थियो। घाइते भएपछि उहाँको शरीरको आधा भाग सुन भएको र पुठामा लागेको घाउ अझै निको हुन नसकेको बताइएको छ। साथै, दिसा–पिसाबको नियन्त्रण समेत नहुने अवस्था रहेको छ।

पटेलले विगतमा मधेश सरकार हुँदा केही आर्थिक सहयोग पाउने गरेको उल्लेख गर्दै हालको सरकारले कुनै पनि आर्थिक वा भौतिक सहयोग उपलब्ध नगराएको गुनासो गर्नुभएको छ। चाडपर्वका बेला केही राजनीतिक व्यक्तिबाट सामान्य सहयोग मात्र पाउने गरेको उहाँको भनाइ छ।

हाल २१ गतेदेखि पुनः उपचाररत रहनुभएका पटेलको समग्र स्वास्थ्य अवस्था सामान्य भए पनि पुरानो घाउमा सुधार नदेखिएको चिकित्सकहरूले बताएका छन्।

उहाँले आफ्नो उपचारमा निरन्तर सहयोग गर्न तथा दीर्घकालीन स्वास्थ्य व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गरिदिन राजनीतिक दल, मधेश सरकार र संघीय सरकारसँग अपिल गर्नुभएको छ। साथै, ‘जिउँदो सहिद’को आधिकारिक परिचयपत्र उपलब्ध गराइदिन समेत माग गर्नुभएको छ।


सम्बन्धित समाचार
भर्खरै