२४ बैशाख, काठमाडौँ । लामो समयदेखि जारी सैन्य तनाव र द्वन्द्व अन्त्य गर्न अमेरिका र इरान एउटा ऐतिहासिक शान्ति सम्झौताको नजिक पुगेका छन्। समाचार संस्था रोयटर्सका अनुसार दुवै मुलुक १४ बुँदे प्रारम्भिक सम्झौतामा सहमतिको अन्तिम चरणमा पुगेका हुन्। सम्झौताको पूर्ण खाका आगामी ४८ घण्टाभित्र सार्वजनिक हुने सम्भावना छ ।
प्रस्तावित सम्झौताअनुसार इरानले आफ्नो विवादास्पद आणविक संवर्द्धन कार्यलाई अस्थायी रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ। बदलामा, अमेरिकाले इरानमाथि लगाइएका केही कठोर आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने र विभिन्न अन्तर्राष्ट्रिय बैंकहरूमा रोक्का गरिएको इरानको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गर्ने सहमति भएको छ ।
सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पाटो सामरिक रूपमा संवेदनशील ‘होर्मुज जलमार्ग’ को अवरोध हटाउनु रहेको छ। फेब्रुअरीदेखि तनावका कारण बन्दप्रायः रहेको यो मार्गमा जहाजहरूको निर्वाध आवागमन सुनिश्चित गरिनेछ। सम्झौताअन्तर्गत ३० दिनको प्रारम्भिक ‘वार्ता अवधि’ तय गरिएको छ। यदि यो अवधिमा ठोस प्रगति नभए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य विकल्प रोज्न सक्ने सर्तसमेत राखिएको छ ।
यस युद्ध अन्त्यका लागि छिमेकी मुलुक पाकिस्तानले प्रभावकारी मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। गत महिना पाकिस्तानमै दुवै देशका प्रतिनिधिबीच गोप्य वार्ता भएको थियो। वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर र इरानी उच्च अधिकारीहरू सहभागी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा सुरक्षाका लागि सञ्चालित नौसैनिक अभियान ‘प्रोजेक्ट फ्रिडम’ लाई अस्थायी रूपमा रोक्ने निर्णय गरेसँगै शान्ति वार्ताले गति लिएको सङ्केत मिलेको छ। यद्यपि, बुधबार मात्रै होर्मुजमा एउटा फ्रान्सेली जहाजमाथि भएको आक्रमणले सुरक्षा चुनौती अझै कायम रहेको देखाएको छ ।
युद्ध अन्त्य हुन लागेको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्यमा ८ प्रतिशतको गिरावट आएर प्रतिब्यारेल १०० डलर आसपास पुगेको छ भने विश्वभरका सेयर बजारमा हरियाली छाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान सधैँ ‘न्यायसङ्गत र व्यापक’ सम्झौताको पक्षमा रहेको बताएका छन् । यदि यो सम्झौता सफल भएमा यसले मध्यपूर्वको अस्थिर राजनीतिमा नयाँ आयाम थप्ने र विश्व अर्थतन्त्रलाई राहत दिने विश्वास गरिएको छ।


















