Logo

२४ बैशाख, काठमाडौं । राज्यकोषको मितव्ययिता र विशिष्ट व्यक्तिहरूको सुविधाका विषयमा बहस भइरहेका बेला गृह मन्त्रालयको पछिल्लो विवरणले नयाँ तथ्य उजागर गरेको छ ।

मन्त्रालयको सवारी तथा सभा समारोह व्यवस्थापन शाखाका अनुसार हाल नेपालका एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले सरकारी सुविधाका गाडीहरू प्रयोग गरिरहेका छन् । मन्त्रिपरिषद्को विभिन्न समयका निर्णयहरूलाई आधार बनाएर गृह मन्त्रालयले यी उच्च पदस्थ व्यक्तित्वहरूलाई विलासी सवारी साधन उपलब्ध गराउँदै आएको हो, जसको विवरण हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको छ ।

प्राप्त विवरण अनुसार नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गृह मन्त्रालयबाट दुईवटा गाडी लगेर प्रयोग गरिरहेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पनि सरकारी गुडिरहेका छन् । यी पूर्वविशिष्टहरूले मन्त्रिपरिषद्को विशेष निर्णयका आधारमा एक–एक थान गाडी सुविधामार्फत बुझेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले माग गरेबमोजिम यी गाडी र प्रयोगकर्ताहरूको सम्पूर्ण विवरण औपचारिक रूपमा जानकारी गराइसकेको पुष्टि गर्नुभएको छ ।

यसैबीच, मापदण्डविपरीत सरकारी सवारी साधन प्रयोग भइरहेको भन्दै आलोचना बढ्न थालेपछि केही पूर्वप्रधानमन्त्रीहरूले गाडी फिर्ता गर्न समेत थालेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै आफूले प्रयोग गर्दै आएको गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएका थिए ।

गृह मन्त्रालयको यो प्रतिवेदन सार्वजनिक भएसँगै अब अन्य पूर्वविशिष्टहरूले कानुन र मापदण्डअनुसार सुविधा पाएका हुन् वा होइनन् भन्ने विषयमा थप निगरानी बढ्ने देखिएको छ ।


सम्बन्धित समाचार