मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ । जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ ।
पछिल्लो समय बढ्दो गर्मीसँगै शरीरमा पानीको कमी भई हुने ‘डिहाइड्रेसन’ (निर्जलीकरण) को जोखिम उच्च देखिएको छ । चर्को घाम र अत्यधिक पसिनाका कारण शरीरबाट तरल पदार्थ बाहिर निस्कने हुनाले यो मौसममा पानीको सन्तुलन मिलाउनु स्वास्थ्यका लागि चुनौतीपूर्ण मानिन्छ ।
डिहाइड्रेसनको जोखिमबाट कसरी बच्ने ?
शरीरको ७० प्रतिशत हिस्सा पानीले बनेको र हरेक कोषिकाको कार्य सञ्चालनका लागि पानी अनिवार्य हुने भएकाले चिकित्सकहरूले तिर्खा नलागे पनि समय–समयमा पानी पिउन सुझाव दिएका छन् । पर्याप्त पानीको अभावमा मिर्गौलाको समस्या, लो ब्लड प्रेसर, चक्कर लाग्ने र पाचन प्रणालीमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको चेतावनी छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार पानी पिउने मात्रा व्यक्तिको उमेर, लिङ्ग र शारीरिक सक्रियतामा निर्भर गर्दछ । सामान्यतया १ देखि ३ वर्षका बालबालिकालाई दैनिक ४ गिलास, ९ देखि १३ वर्षका लागि ७–८ गिलास र वयस्क पुरुषका लागि दैनिक करिब १३ गिलास (३.७ लिटर) पानी आवश्यक पर्दछ ।
त्यस्तै, वयस्क महिलाले दैनिक ९ गिलास (२.७ लिटर) र गर्भवती वा स्तनपान गराउने महिलाले १० देखि १३ गिलाससम्म पानी पिउनु पर्ने हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको तथ्याङ्कले देखाउँछ । पानी पिउँदा एकैपटक धेरै नपिई बिस्तारै घुट्क्याएर पिउनु पाचन प्रक्रियाका लागि फलदायी मानिन्छ ।
डिहाइड्रेसनबाट बच्न सादा पानीमा मात्र निर्भर नभई पानीको मात्रा बढी भएका फलफूल र तरकारीको सेवनमा जोड दिनु आवश्यक छ । ९६ प्रतिशत पानी हुने काँक्रो, ९२ प्रतिशत पानी हुने खरबुजा, गोलभेडा र पालुङ्गो जस्ता खाद्यवस्तुले शरीरलाई प्राकृतिक रूपमा हाइड्रेटेड राख्न मद्दत गर्दछन् ।
यसका साथै नरिवलको पानी, मही, लस्सी र कागती पानी जस्ता स्वस्थकर पेय पदार्थ गर्मीका लागि निकै उपयोगी हुन्छन् । तर, चिया, कफी, सोडा र मदिराले शरीरमा पानीको मात्रा थप घटाउने भएकाले यस्ता पदार्थको सेवनमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
पानीको कमी हुँदा देखिन्छन् यस्ता लक्षण
विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू डिहाइड्रेसनको छिटो सिकार हुने भएकाले उनीहरूको खानपानमा विशेष निगरानी राख्न जरुरी छ । टाउको दुख्ने, मुख सुक्ने, गाढा पहेँलो पिसाब हुने वा धेरै सुस्त महसुस हुने जस्ता लक्षण देखिएमा त्यो शरीरमा पानीको गम्भीर कमी भएको संकेत हुन सक्छ ।
यस्तो अवस्थामा तत्काल जीवनजल (ओआरएस) दिने वा अवस्था जटिल भए चिकित्सकको सल्लाह लिनु पर्दछ । गर्मीको समयमा घरबाहिर निस्कँदा पानीको बोतल साथैमा राख्ने र नियमित अन्तरालमा पानी पिउने बानीले मात्र पनि धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।


















