Logo

२६ वैशाख, काठमाडौँ । सरकारले मुलुकका १३ वटा स्थानीय तहमा डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसीडी) ले ती स्थानीय तहहरूमा सङ्क्रमणको क्लस्टर (झुण्ड) देखिएकाले रोकथामका उपाय अपनाउन पत्राचार गरेको हो।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पुस महिनायताको तथ्याङ्क अध्ययन गर्दा १३ वटा स्थानीय तहमा सङ्क्रमणको दर तुलनात्मक रूपमा बढी देखिएको छ। जोखिमको सूचीमा रहेका नगरहरूमा ओखलढुङ्गाको सिद्धिचरण, झापाका भद्रपुर, विर्तामोड र मेची नगरपालिका तथा कचनाकेवल गाउँपालिका छन्।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको वेनी, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई र ललितपुर महानगरपालिकामा पनि सङ्क्रमणको जोखिम देखिएको छ। “अन्य क्षेत्रमा फाट्टफुट्ट देखिए पनि यी १३ तहमा एउटै क्षेत्रमा पाँच जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाले विशेष सतर्कताका लागि पत्राचार गरेका छौँ,” डा. दाहालले भने।

महाशाखाको तथ्याङ्कअनुसार पुस महिनादेखि हालसम्म करिब ६ सय जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ। यद्यपि, हाल भइरहेको वर्षाले तत्कालै महामारीको रूप लिने सम्भावना भने कम रहेको विज्ञहरूको भनाइ छ। “अहिलेको पानी लगातार नभई केही बेर आउने र रोकिने खालको छ, जसले लामखुट्टेको वृद्धि विकासमा खासै ठूलो सहयोग पुर्‍याउँदैन,” डा. दाहालले थपे।

‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्दा डेङ्गु सर्ने गर्दछ। स्वास्थ्य मन्त्रालयले घर वरपर पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र गमला, टायर तथा पुराना भाँडाकुँडामा पानी जम्मा हुन नदिन सर्वसाधारणलाई अपिल गरेको छ।

सरकारले स्थानीय तहहरूलाई ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।


सम्बन्धित समाचार
भर्खरै