Logo

२६ वैशाख, काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र समसामयिक विषयमा दुईदिने विशेष प्रशिक्षण दिन सुरु गरेको छ। पार्टीको प्रशिक्षण विभागको आयोजनामा आज र भोलि (दुई दिन) काठमाडौँमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।

रास्वपाका प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षणमा संसदीय प्रक्रिया, कानुन निर्माणमा सांसदको भूमिका, र पार्टीको नीतिगत अवधारणाका विविध पक्षमा गहन छलफल हुनेछ ।

“पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई विविध विषयमा जानकारी गराउन र संसदीय गरिमालाई थप उचाइमा पुर्‍याउन यो प्रशिक्षणले सहयोग गर्नेछ,” आचार्यले भने ।

प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। पार्टीले यस प्रशिक्षणमा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन (ह्वीप) जारी गरेको छ ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफ्ना जनप्रतिनिधिहरूको कार्यक्षमता बढाउन र संसद्मा जनताका मुद्दाहरूलाई प्राविधिक रूपमा सही ढङ्गले उठाउन यस्ता प्रशिक्षणलाई प्राथमिकता दिँदै आएको छ ।


सम्बन्धित समाचार