२६ वैशाख,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका ले नगर क्षेत्रलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउन फोहोर व्यवस्थापनमा कडाइ गर्ने भएको छ। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि अब कानुनी कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक, चोक, फुटपाथ, नाला, नदी तथा अन्य सार्वजनिक स्थलमा फोहोर फाल्न पूर्ण प्रतिबन्ध लगाइएको जनाएको हो।
सूचनाअनुसार फोहोरमैला व्यवस्थापन ऐन–२०६८ तथा स्थानीय फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७९ अनुसार नियम उल्लंघन गर्नेलाई कारबाही गरिनेछ।
कसुरको प्रकृति हेरी अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। सामान्य प्रकृतिको फोहोर सार्वजनिक स्थानमा फाल्ने व्यक्तिलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ भने सोही कसुर दोहोरिए प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जाने उपमहानगरपालिकाले जनाएको छ।
नगरको सरसफाइ, वातावरण संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा असर पर्ने गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उपमहानगरपालिकाले नगरवासीलाई तोकिएको स्थानमै फोहोर व्यवस्थापन गर्न तथा सरसफाइ अभियानमा सहयोग गर्न आग्रह गरेको छ।


















