Logo

२६ वैशाख, चितवन । जब कोभिड–१९ को भयावह लहरले मुलुक ठप्प थियो, चितवनका दुग्ध किसानका आँखामा आँसु र हातमा रित्तो दूधका बाल्टिन मात्र थिए। देशभरका किसानले बजार नपाएर दूध सडकमा पोखिरहँदा गङ्गानगरका पशुपालक किसानहरूका लागि भने “गङ्गानगर” दुग्ध उत्पादन सहकारी संस्था एउटा बलियो खम्बा बनेर उभियो।

त्यही संकटको अँध्यारो कोठामा फुरेको एउटा सानो आइडिया आज देशभरका डेरी उद्योगका लागि व्यावसायिक क्रान्तिको मार्गदर्शक बनेको छ। बजारमा दूध खरिद बन्द भयो, ठूला उद्योग र डिडिसीले भुक्तानी रोके । तर, किसानको पसिना खेर जान दिनुहुन्न, भन्ने दृढ संकल्प बोकेका संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आफ्नो व्यक्तिगत जेथा बैंकमा धितो राखेर करिब १ करोड ७५ लाख रुपैयाँ ऋण निकाले। त्यो रकम जब किसानको हातमा पुग्यो, तब मात्र गङ्गानगरका गोठहरूमा फेरि उत्साह फर्कियो।

दूधलाई खेर जान नदिन डेरीले घिउ बनाउन सुरु गर्‍यो। घिउ निकालेपछि बाँकी रहेको तरल पदार्थ (मोही) लाई सुरुमा किसानहरूलाई नै निःशुल्क वितरण गरियो। पछि, जिल्ला दुग्ध सहकारी संघको एउटा कार्यक्रममा सहभागीहरूलाई यो मोही चखाउँदा सबैले यसको स्वाद र शीतलताको मुक्तकण्ठले प्रशंसा गरे। त्यही प्रशंसा र उत्साहले गङ्गानगरलाई मोहीको व्यावसायिक उत्पादन गर्ने आँट दियो।

गङ्गानगर डेरीले मोहीलाई मात्रै उत्पादन गरेन, यसलाई कोक र फेन्टा जस्ता बहुराष्ट्रिय पेय पदार्थको एउटा बलियो र स्वास्थ्यवर्धक विकल्पका रूपमा स्थापित गरिदियो। अहिले ठूला सभा, सम्मेलन, विवाह र धार्मिक कार्यहरूमा चिसो पेयको ठाउँ मोहीले लिन थालेको छ।

अध्यक्ष सापकोटाका अनुसार अन्य डेरीको तुलनामा गङ्गानगरको मोही बढी गुणस्तरीय र स्वादिष्ट हुनुको कारण यसको मौलिक प्रशोधन विधि हो। हामीले किसानको भरोसा र विश्वासलाई अटुट राख्न अरूलाई दूध बेच्नुको सट्टा आफैँले दही, मोही, खुवा, बटर, पनीर र लस्सी जस्ता उत्पादन सुरु गर्‍यौँ, उहाँ भन्नुहुन्छ, आज प्रयोगकर्ताहरूले हाम्रो मोहीको जुन गुणस्तर र स्वादको प्रशंसा गर्नुहुन्छ, त्यो नै हाम्रो उद्यमशीलताको सबैभन्दा ठूलो पुरस्कार हो।

गङ्गानगर डेरीबाट सुरु भएको यो व्यावसायिक मोही उत्पादनको लहर अहिले देशभरका डेरीहरूमा फैलिएको छ। कोभिडको त्यो कष्टकर समयमा किसानको पसिना जोगाउन गरिएको एउटा प्रयोग आज नेपाली डेरी बजारको एउटा अपरिहार्य प्रोडक्ट बनेको छ। दैनिक १,२०० देखि २,००० लिटरसम्म मोही बिक्री गर्दै आएको गंगानगर डेरीले चितवन लगायत यसका आसपासका जिल्लामा व्यवसायीक कारोवार शुरु गरेको छ ।

संस्थाले किसानको गाईवस्तुको बीमा र खोप निःशुल्क गरिदिनेदेखि घाँस खेतीमा अनुदानसम्म दिँदै आएको छ। तर, राज्यको तर्फबाट पाउनुपर्ने सुविधा भने अझै न्यून छ। डिडिसीले अझै पनि गङ्गानगरको करिब १ करोड १७ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।

जब गङ्गानगरले पैसा दिन्छ, तब मात्र किसानको घरको चुल्हो बल्छ र छोराछोरीको स्कुलको शुल्क तिरिन्छ, अध्यक्ष सापकोटा भन्नुहुन्छ, “राज्यले किसानको यो पसिना र मेहनतलाई बुझेर सिधै किसानको खातामा अनुदान पुग्ने र बजार सुनिश्चित गर्ने नीति ल्याउनैपर्छ।”

गङ्गानगर डेरीको यो यात्रा केवल व्यापार मात्र होइन, यो संकटमा नहडबडाई निकालिएको एउटा समाधान र किसान–सहकारीबीचको अटुट भावनात्मक सम्बन्धको कथा हो।


सम्बन्धित समाचार
भर्खरै