२६ वैशाख,वीरगञ्ज । पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्त को सचिवालयले सामाजिक सञ्जाल routine of madhesh pradesh लगायत केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै सांसद पन्तको नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर प्रकाशित सामग्री पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरेको हो।
विज्ञप्तिमा अनलाइनमा उल्लेख गरिएका व्यवसाय तथा व्यावसायिक संस्थासँग सांसद पन्तको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। कुनै तथ्य र प्रमाणबिना व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको सचिवालयले उल्लेख गरेको छ।
यस्ता आधारहीन सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्याउने प्रयास भएको सचिवालयको भनाइ छ।
सचिवालयले सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल उक्त सामग्री हटाउन, भ्रामक प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।
त्यस्तै गलत मनसायले नियोजित रूपमा गरिएका गतिविधिविरुद्ध नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहिता तथा प्रचलित कानुनअनुसार कानुनी प्रक्रिया अघि बढाइसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न अनुरोध गरेको छ।


















