Logo

२६ वैशाख,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण आयोजना गरिएको हो।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन रास्वपाका सांसदहरू जावलाखेल पुगेका छन्। कार्यक्रमको औपचारिक उद्घाटन उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले गरेका हुन्।

रास्वपाले संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन तथा सांसदहरूको कानुनी र नीतिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाएको छ।

पहिलो दिनको प्रशिक्षण सदन र सरकारबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित रहने बताइएको छ। पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका विषयमा महामन्त्री भूपदेव शाह ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

त्यस्तै संसदीय समितिहरूमा सांसदहरूको भूमिका सम्बन्धी विषयमा संसदीय दलका उपनेता गणेश पराजुली ले प्रशिक्षण दिनेछन् भने संसदीय अभ्यास तथा दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगी ले अनुभव र अभ्यास प्रस्तुत गर्ने कार्यक्रम छ।

रास्वपाका अनुसार दोस्रो दिनको सत्र राजनीतिक आचरण, कूटनीति तथा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ।

सचेतक क्रान्तिशिखा धिताल ले राजनीतिक मनोविज्ञान, व्यवहार तथा नैतिक आचरणबारे प्रशिक्षण दिनेछिन् भने परराष्ट्रमन्त्री शिशिर खनाल ले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका विषयमा जानकारी गराउने कार्यक्रम छ।

यसैगरी सह–महामन्त्री विपिन कुमार आचार्य ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा तथा पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।


सम्बन्धित समाचार