२६ वैशाख,काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले न्यायको प्रतिस्थापन गर्न विभिन्न बहानामा धराप थाप्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै पनि परिस्थितिमा न्यायसँग सम्झौता गर्न नहुने बताइन्।
“आगामी दिनमा कुनै कारण देखाएर न्यायको प्रतिस्थापन गर्न खोज्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर उठिरहेको छ,” उनले भनिन्।
प्रधानन्यायाधीश मल्लले तत्कालीन शक्ति वा प्रभावका आधारमा यस्ता प्रवृत्तिलाई संरक्षण गर्न खोजिए त्यसको परिणाम अनिश्चित र गम्भीर हुन सक्ने चेतावनी दिइन्।
उनले संविधानको मर्मविपरीत गरिने गतिविधिलाई परिवर्तन वा क्रान्तिको नाम दिन नसकिने स्पष्ट पारिन्।
“एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन,” उनले भनिन्, “संविधानलाई यथास्थितिमा राखेर संविधानविरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन।”
उनले संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधानको प्रभावकारी कार्यान्वयन सम्भव नहुने पनि बताइन्।


















