२६ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नै पार्टीबारे सामाजिक सञ्जालमा टिप्पणी गरेपछि सांसद आशिका तामाङ लाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
रास्वपाका एक नेताका अनुसार पार्टीको आन्तरिक विषय सार्वजनिक रूपमा उठाएको भन्दै तामाङसँग स्पष्टीकरण माग्ने तयारी गरिएको हो।
शनिबारदेखि जावलाखेलस्थित स्टाफ कलेजमा रास्वपाको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ। उक्त कार्यक्रमको स्थान र खर्चबारे सांसद तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन्।
उनले सिंहदरबारभित्र पर्याप्त सभाहल हुँदाहुँदै बाहिर कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रश्न उठाएकी छन्। साथै कार्यक्रम सञ्चालनमा हुने खर्चको लेखाजोखा कसले गर्ने भन्ने विषयमा पनि उनले जिज्ञासा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “सांसदहरूलाई प्रशिक्षण कार्यक्रम वा अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल वा बाहिर हल सापटी लिनुपर्ने बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल धेरै छन्, बाहिर किन?”
उनले पार्टीले सार्वजनिक रूपमा मितव्ययिताको कुरा गर्दै व्यवहारमा भने फजुल खर्च गरेको देखिएको टिप्पणीसमेत गरेकी छन्।
रास्वपाका नेताहरूले भने पार्टीको आन्तरिक विषय सार्वजनिक रूपमा उठाउनु उपयुक्त नभएको भन्दै यसबारे पार्टीभित्र छलफल भइरहेको बताएका छन्।


















