Logo

२६ वैशाख,वीरगञ्ज । जनकपुरधाम मा स्वास्थ्यमन्त्री निशा मेहता को राजीनामा माग गर्दै स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्ट लगायत स्वास्थ्यकर्मीहरूले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘स्वास्थ्य मन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाइ होइन अधिकार चाहिन्छ’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’ तथा ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ जस्ता नारासहित जनकपुरधामका विभिन्न चोकमा र्‍याली निकालेका थिए।

स्वास्थ्यकर्मीहरूले सरकारले दुई दिनअघि स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दरबन्दी आह्वान गरे पनि हेल्थ असिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा कुनै दरबन्दी नखोलिएको भन्दै असन्तुष्टि जनाएका छन्।

स्वास्थ्यकर्मी नवेश अधिकारी ले ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी खुलाउँदा पनि हेल्थ असिस्टेन्टलगायतका पदमा शून्य दरबन्दी राखिनु विभेदपूर्ण भएको आरोप लगाए।

उनले नर्सिङ र डाक्टरबाहेक अन्य स्वास्थ्यकर्मीका लागि अवसर नखुलाउनु देशमा ती जनशक्तिको आवश्यकता नै छैन भन्ने सन्देश दिने खालको भएको बताए। उनका अनुसार नेपालमा प्रत्येक वर्ष ५ हजार ३ सयभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन भए पनि उनीहरूका लागि सरकारी दरबन्दी नखुल्ने अवस्था रहेको छ।

प्रदर्शनकारीहरूले सरकारले दुई दिनभित्र निर्णय नसच्याए आगामी सोमबार काठमाडौंमा वृहत आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै स्वास्थ्यमन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै