‘सहकारी ऐन २०७४’ तथा ‘प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड २०८३’ अनुसार इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको अथवा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।
त्यस्तै विज्ञ सदस्य पदका लागि पनि सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्नेछ। साथै अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १० वर्ष कार्य गरेको अनुभव हुनुपर्ने जनाइएको छ।
मन्त्रालयका अनुसार ६० वर्ष उमेर पूरा नभएका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदकले वित्तीय सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती तथा अवसर समेटिएको कार्ययोजनासमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सूचना जारी भएको मितिले १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सकिने मन्त्रालयले जनाएको छ।
यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको थियो। समितिले ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गर्दै अन्यथा कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको थियो।