२७ वैशाख, वीरगञ्ज । मधेस प्रदेशमा हुने सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) नागरिकको जीवनका लागि सबैभन्दा ठूलो जोखिम बनेको देखिएको छ । कुल सवारी दुर्घटनामध्ये झन्डै दुई तिहाइ हिस्सा मोटरसाइकलकै हुनुले प्रदेशको सडक सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म भएका कुल ८ हजार ६ सय २४ सवारी दुर्घटनामध्ये ५ हजार ९७५ वटा त मोटरसाइकल मात्रै छन् । यी दुर्घटनामा परी ३ सय ९८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ४०९ जना गम्भीर घाइते भएका छन् । ८ हजार ३२९ जना सामान्य घाइते भएका छन्। मृत्यु हुने र घाइते हुनेमा अधिकांश युवा समूहका मोटरसाइकल चालक र पछाडि बस्नेहरू नै छन् ।
विगत पाँच वर्षदेखि मधेसका जिल्लाहरूमध्ये धनुषामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चालु आवको चैतसम्म धनुषामा मात्रै १ हजार ४८ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यस्तै, सर्लाहीमा ९९४, बारामा ८ सय ४२, रौतहटमा ८ सय २१, सिराहामा ७ सय ४०, पर्सामा ७ सय १८, महोत्तरीमा ५ सय ६८ र सप्तरीमा २ सय ९४ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यो क्रम गत आर्थिक वर्ष २०८१/८२ मा पनि उस्तै थियो, जहाँ ७ हजार २ सय १ मोटरसाइकल दुर्घटनामा परेका थिए ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार तीव्र गति, लाइसेन्स नभएका युवाहरूको लापरबाही र लागूऔषध वा मादक पदार्थ सेवन (लापसे/मापसे) गरी सवारी चलाउनु नै दुर्घटनाका प्रमुख कारण हुन् । “उमेर नपुगेका युवाहरूले आफूलाई ‘स्मार्ट’ देखाउने होडमा तीव्र गतिमा मोटरसाइकल कुदाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको छ,” डीआईजी थपलियाले भने। यस्तै, ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार २५ देखि ३० वर्ष उमेर समूहका युवाहरू यस्ता घटनामा बढी संलग्न देखिन्छन् ।
दुर्घटना न्यूनीकरण प्रभावकारी हुन नसक्नुमा सरकारको नीतिमाथि पनि प्रश्न उठेको छ। जनकपुरधाम–२३ का स्थानीय अभी ठाकुर सरकार दुर्घटना रोक्नभन्दा राजस्व सङ्कलनमा केन्द्रित भएको आरोप लगाउँछन्। “सरकारले राजस्वका लागि मोटरसाइकल बिक्री गर्न दिने तर लाइसेन्स वितरणमा कडाइ वा ढिलाइ गर्दा धेरैले बिना लाइसेन्स सवारी चलाइरहेका छन्,” ठाकुरले भने । अर्की स्थानीय सुनेना यादवका अनुसार लापसे वा मापसे गर्नेलाई कडा कानुनी कारबाहीको सट्टा जरिवाना मात्र लिएर छाड्दा चालकहरूको मनोबल बढेको छ ।
बढ्दो दुर्घटना र लागूऔषधको जालो तोड्न प्रदेश प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ। वैशाख २५ गते नगराइन नगरपालिकाबाट सुरु भएको यो अभियानले सेवनकर्तालाई सुधार केन्द्रमा पुर्याउने लक्ष्य राखेको छ ।
यद्यपि, वैशाख महिनामा मात्रै धनुषाको गणेशमान चारनाथ, ढल्केबर र पथलैया–वीरगञ्ज सडकखण्डमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाले सडक सुरक्षाको चुनौती अझै कम नभएको पुष्टि गर्छ । ट्राफिक प्रहरीले विद्यालय र सडकमा सचेतना अभियान जारी राखे पनि लाइसेन्स नभएका र नियम मिच्नेलाई जरिवानाबाहेक कडा कानुनी कारबाहीको अभावले मोटरसाइकल दुर्घटना मधेसको ‘दीर्घकालीन घाउ’ बनेको छ ।

















