२७ वैशाख, वीरगञ्ज । वीरगञ्जको पावरहाउस चोकस्थित निलकण्ठ अस्पतालमा शुक्रबार बिहान एउटा यस्तो दृश्य देखियो, जसले नेपालको कानुनी राज्य र स्वास्थ्य क्षेत्रको संवेदनशीलतामाथि निकै ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । पेट दुखेर मोटरसाइकलमा आफैँ हिँडेर अस्पताल छिरेकी ४८ वर्षीया प्रमिला देवीको केही मिनेटमै मृत्यु भयो, तर त्यो मृत्युको कारण खोज्नुको साटो मूल्य तोकियो – मात्र ४ लाख रुपैयाँ ।
वीरगञ्ज महानगरपालिका–३१ चोर्नीकी प्रमिला देवीलाई शुक्रबार बिहान ४ बजे पेट दुख्ने समस्या देखिएपछि परिवारले मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका थिए । प्रत्यक्षदर्शी र आफन्तका अनुसार उनी आफ्नै खुट्टाले हिँडेर अस्पताल भित्र प्रवेश गरेकी थिइन् । तर, अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव र ड्युटीमा रहेका मेडिकल अफिसरको सिफारिसमा एक नर्सले इन्जेक्सन (सुई) लगाए लगत्तै उनको स्वास्थ्य अचानक बिग्रियो ।
“नर्सले केनुला लगाउन निकै सङ्घर्ष गरिरहेकी थिइन्, जुन सीसीटीभी फुटेजमा पनि देखिन्छ,“ एक आफन्तले आक्रोश पोखे, “सुई लगाएको केही बेरमै उनले बान्ता गरिन् र प्राण पखेरु उड्यो।“ उपचारमा संलग्न नर्स दक्ष नभएका कारण र गलत उपचारका कारण प्रमिलाको ज्यान गएको आफन्तको दाबी छ ।
प्रहरीकै रोहवरमा ’मृत्युको मूल्य’
अस्पतालको लापरबाही भन्दै आफन्तले प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बन्यो । वडा प्रहरी कार्यालय श्रीपुरको टोली घटनास्थल पुग्यो । कानुनी रूपमा यस्तो शङ्कास्पद मृत्युमा शवको पोस्टमार्टम गरी मृत्युको वास्तविक कारण पत्ता लगाउनुपर्ने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । तर, यहाँ दृश्य अर्कै देखियो ।


















