Logo

२७ बैशाख, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर दोस्रो साता आफ्नो ऐतिहासिक एकता महाधिवेशन गर्ने घोषणा गरेको छ ।

पार्टीको संयोजन समितिको बैठकपश्चात् संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन मार्फत महाधिवेशनको मिति तय गरिएको हो । महाधिवेशनअघि जेठ मसान्तभित्रै विभिन्न घटकहरूसँगको बाँकी एकीकरण र सांगठनिक समायोजनका सम्पूर्ण प्रक्रियालाई पूर्णता दिने लक्ष्य पार्टीले लिएको छ ।

समायोजन लगत्तै देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै नेता(कार्यकर्ताको आचरण र जीवनशैलीमा सुधार ल्याउन विशेष पहल गरिने अपानीमा उल्लेख छ ।

पार्टीले नयाँ संरचनामा युवाहरूको प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिने नीति अख्तियार गरेको छ । वडादेखि केन्द्रसम्मका सबै निर्वाचित समितिहरूमा पाका, अनुभवी र युवा पुस्ताको सन्तुलन मिलाइने र युवाहरूको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउन विशेष जोड दिइने बताइएको छ ।

समावेशी मान्यताका आधारमा गठन गरिने यी समितिहरूले पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा थप स्पष्ट र गतिशील बनाउने विश्वास लिइएको छ । चैत १९ देखि वैशाख १५ गतेसम्म चलेको संयोजन समितिको बैठकले सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्दै बृहत् एकीकृत कम्युनिस्ट पार्टी निर्माणको कार्यभारलाई समेत अघि बढाउने निर्णय गरेको छ ।

पार्टी नेतृत्वले दस्ताबेजमा हस्ताक्षर गरिसकेको भए पनि तल्लो तहका समितिहरूमा आधिकारिक परिपत्र पुग्न भने बाँकी रहेको नेताहरूले बताएका छन् । आगामी महाधिवेशनलाई विचार, राजनीति र संस्कृतिको स्पष्टतासहितको ‘क्रान्तिकारी महाधिवेशन’ बनाउने संकल्प नेकपाले गरेको छ । यस प्रक्रियाले नेपाली

राजनीतिमा वामपन्थी ध्रुवीकरणलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ, जहाँ पाका नेताहरूको अनुभव र युवाहरूको जोसलाई एकीकृत गरी शक्तिशाली साङ्गठनिक ढाँचा तयार गरिनेछ ।


सम्बन्धित समाचार