Logo

२८ बैशाख, कलैया (बारा) ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिलाई विघटन गर्ने निर्णय गरेको छ। हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सांगठनिक पुनर्संरचनाको रणनीतिअन्तर्गत बारा जिल्ला कार्यसमितिलाई भंग गर्ने निर्णय लिएको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, मधेस प्रदेश समितिले गरेको विशेष सिफारिसका आधारमा केन्द्रीय सचिवालयले यो कदम चालेको हो। जिल्ला कार्यसमितिमा देखिएका केही प्राविधिक र सांगठनिक समस्याहरूलाई सम्बोधन गर्न र नयाँ ऊर्जाका साथ संगठनलाई अघि बढाउन समिति विघटन गरिएको बुझिएको छ।

समिति विघटनसँगै रास्वपाले बारामा नयाँ नेतृत्व चयनका लागि जिल्ला अधिवेशनको प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ। “बारा जिल्ला समिति विघटन गर्ने निर्णयसँगै अब त्यहाँ जिल्ला अधिवेशनको तयारीलाई तीव्र पारिनेछ,” प्रवक्ता झाले जानकारी दिए।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले पछिल्लो समय मधेस प्रदेशमा आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बारा जिल्ला समितिको विघटन र नयाँ अधिवेशनको घोषणालाई मधेसमा पार्टीको प्रभाव अझ सुदृढ बनाउने रणनीतिका रूपमा हेरिएको छ। अधिवेशनको मिति र प्रक्रियाबारे थप विस्तृत कार्ययोजना छिट्टै सार्वजनिक गरिने पार्टीले जनाएको छ।


सम्बन्धित समाचार