२८ बैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ स्थित चौतारी पार्टी प्यालेसमा आयोजित एक विवाह समारोहको भोज खाँदा जन्ती र घरपक्षी गरी ७५ जना बिरामी परेका छन् । वैशाख २३ गते भएको उक्त समारोहमा सहभागीहरूमा एक्कासी स्वास्थ्य समस्या देखिएपछि घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार काठमाडौँको सतुङ्गलबाट आएका जन्ती र भरतपुर–२५ का दुलही पक्षबीच भएको विवाह भोज खाएपछि सहभागीहरू बिरामी परेका हुन् । हालसम्म ७५ जनामा स्वास्थ्य समस्या पुष्टि भएकोमा १५ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी ६० जनाको भरतपुर र काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
घटनापछि चितवन प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले चौतारी पार्टी प्यालेसमा ताला लगाएर सिल गरेको छ। प्रहरीले अनुसन्धानका लागि पार्टी प्यालेसका दुई जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ । “प्रारम्भिक अनुसन्धानले खाद्य विषाक्तता (फूड पोइजनिङ) को सङ्केत गरेको छ,” एसपी पुरीले भने, “सबै बिरामीको अवस्था हाल खतरामुक्त छ र उनीहरूको उपचार खर्च सम्बन्धित पार्टी प्यालेसले नै व्यहोर्ने सहमति भएको छ ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले भोजमा प्रयोग गरिएको खानाको नमुना सङ्कलन गरी प्रयोगशालामा पठाएको छ । दूषित खाना वा भण्डारणमा लापरबाहीका कारण यस्तो अवस्था आएको हुनसक्ने आशङ्का गरिएको छ ।
प्रहरीले प्रयोगशालाको प्रतिवेदन प्राप्त भएपछि दोषी पक्षमाथि कडा कानुनी कारबाही अघि बढाउने जनाएको छ । विवाह जस्तो उत्सवको क्षण बिरामी र अस्पतालको दौडधुपमा परिणत भएपछि दुवै पक्ष यतिबेला चिन्तित बनेका छन् ।


















