Logo

२८ वैशाख,काठमाडौं । महिलाका लागि विश्वकै सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। वल्ड पपुलेसन रिभ्यूले सार्वजनिक गरेको ‘महिला शान्ति तथा सुरक्षा सूचकाङ्क–२०२६’ अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था थप जटिल बनेको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार अफगानिस्तानमा महिलामाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको छ। शिक्षा, रोजगारी तथा सार्वजनिक जीवनमा महिलाको सहभागिता अत्यन्त न्यून रहेको जनाइएको छ। महिलाको स्वतन्त्रता र अधिकारमा व्यापक नियन्त्रण गरिएकाले त्यहाँको अवस्था विश्वमै सबैभन्दा खराब मानिएको रिपोर्टमा उल्लेख छ।

महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखिको गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा, शिक्षा तथा आधारभूत संरचना गम्भीर रूपमा प्रभावित बनेको जनाइएको छ।

त्यसैगरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो लोकतान्त्रिक गणतन्त्र, सुडान र दक्षिण सुडान पनि महिलाका लागि उच्च जोखिमयुक्त देशहरूको सूचीमा परेका छन्। यी देशहरूमा जारी द्वन्द्व, राजनीतिक अस्थिरता र कमजोर सुरक्षा व्यवस्थाले महिलाको दैनिकी थप संकटपूर्ण बनेको रिपोर्टले जनाएको छ।

रिपोर्टमा युद्ध, चरम गरिबी, लैंगिक विभेद तथा कट्टर सामाजिक मान्यताका कारण महिलाको सुरक्षा र अधिकारमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

यता नेपाल भने महिला सुरक्षा सूचकाङ्कमा १२०औँ स्थानमा परेको छ। नेपाल युद्धग्रस्त मुलुकहरूको तुलनामा तुलनात्मक रूपमा सुरक्षित देखिए पनि महिला हिंसा, लैंगिक विभेद तथा सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको रिपोर्टमा औंल्याइएको छ।


सम्बन्धित समाचार
भर्खरै