Logo

२८ बैशाख, काठमाडौँ । संसद्को बर्खे अधिवेशन सुरु हुनै लाग्दा विपक्षी दलहरूले व्यवस्थापिकालाई कार्यपालिकाको छाया बनाउन खोजिएको भन्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर विपक्षी दलका प्रमुख सचेतक तथा सचेतकहरूले संसद्को गरिमा कायम राख्न र सरकारको कठपुतली नबन्न आग्रह गरेका हुन् ।

भेटका क्रममा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले सबै काम कार्यकारीबाटै फत्ते गर्ने र संसद्लाई देखाउने दाँत मात्र बनाउन खोजेको आरोप लगाउनुभयो । विशेषगरी आजको पहिलो बैठकमा विपक्षीलाई बोल्ने समय उपलब्ध नगराइएको र सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय नदिई एक दिन मात्र छुट्याइएकोमा विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन् ।

विपक्षी नेताहरूले आजको बैठकमा ‘आकस्मिक समय’ उपलब्ध गराउन सभामुखसँग माग गरेका छन् । यदि बोल्ने समय नदिएमा संसद् बैठकमा उभिएर विरोध जनाउने उनीहरूको तयारी छ ।

यद्यपि, विपक्षीले बैठक बहिष्कार भने नगर्ने र ढ्यापढ्यापे समय लिएर भए पनि आफ्ना कुरा राख्ने स्पष्ट पारेका छन् । सरकारले संसद्लाई बिजनेस दिने नाममा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै विपक्षी मोर्चाले आगामी रणनीति तय गर्ने चेतावनीसमेत दिएको छ ।


सम्बन्धित समाचार