Logo

२८ बैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वर्तमान सरकारको कार्यशैली निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाउँदै संसद्मा कडा जवाफ माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेकपाका मुख्य सचेतक युवराज दुलालले शून्य समयमा बोल्दै सरकारले लोकतन्त्रको उपहास गरेको दाबी गर्नुभयो ।

सचेतक दुलालले सुकुम्वासी बस्तीमा चलाइएको डोजर आतङ्क र त्यसबाट सिर्जित परिस्थितिले नागरिकलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो । ‘सरकारले नागरिकलाई मर्न बाध्य बनाइरहेको छ। सुकुम्वासी बस्ती खाली गराउने क्रममा इन्द्रबहादुर राईले गरेको आत्महत्याको घटनामा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ?’ भन्दै उहाँले सदनमार्फत सरकारलाई प्रश्न गर्नुभयो। विधि र कानुनको शासनको नारा दिने सरकारले नै नियम विपरीत सत्ता चलाइरहेको उहाँको आरोप थियो ।

यसैगरी, संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश सिफारिस गर्दा अपनाइएको प्रक्रियाप्रति पनि नेकपाले असन्तुष्टि पोखेको छ । परिषद्का अन्य सदस्यहरूको सहमति र मतलाई बेवास्ता गरी एकलौटी ढङ्गले निर्णय गरिनु लोकतन्त्रका लागि घातक भएको सचेतक दुलालले टिप्पणी गर्नुभयो ।

संवैधानिक निकायहरूलाई चुनौती दिने गरी गरिएका यस्ता निर्णयहरूले मुलुकलाई लोकतन्त्रबाट विमुख गराएर निरङ्कुशतर्फ धकेल्न खोजेको भन्दै नेकपाले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको छ ।


सम्बन्धित समाचार