२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। बोर्डको केहीबेरअघि सम्पन्न बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, आज साँझ ८ बजे पत्रकार सम्मेलन गरी नतिजाको औपचारिक घोषणा गरिनेछ। विद्यार्थीहरूले भने साँझ ९ बजेपछि मात्रै आफ्नो नतिजा अनलाइन तथा अन्य माध्यमबाट हेर्न पाउनेछन्। पत्रकार सम्मेलन ८ बजे हुनेछ र ९ बजेपछि मात्रै नतिजा हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ, नियन्त्रक अधिकारीले जानकारी दिनुभयो।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा यसपटक विगतको तुलनामा छिटो आउन लागेको हो। परीक्षा बोर्डका अनुसार यस वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो, जसका कारण नतिजा तयारीको काम छिटो सम्पन्न भएको हो।
यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। लिङ्गका आधारमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी थिए।
नतिजा कसरी हेर्ने ?
विद्यार्थी तथा अभिभावकहरूले नतिजा हेर्नका लागि एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूको प्रयोग गर्न सक्नेछन्।
१. एसएमएस र आईभीआर (SMS & IVR) बाट
-
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR दुवै सेवा)
-
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
-
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
२. वेबसाइट (Websites) बाट:
-
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
-
नेपाल टेलिकम: www.see.ntc.net.np
-
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
-
इडियु सञ्जाल: www.see.edusanjal.com
-
खल्ती: https://khalti.com/app
गत वर्षहरूमा जस्तै नतिजा सार्वजनिक भए लगत्तै ट्राफिक बढी हुने हुँदा वेबसाइटहरू ढिलो खुल्न सक्ने भएकाले धैर्यता राख्न समेत बोर्डले आग्रह गरेको छ।

















