Logo

२८ बैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।

बोर्डले नतिजा सार्वजनिक गरे पनि विद्यार्थीहरूले आफ्नो विवरण र ग्रेड हेर्नका लागि भने केही समय कुर्नुपर्ने जनाएको छ। प्राविधिक प्रक्रिया मिलाउन बाँकी रहेकाले केहीबेर पछि मात्रै आधिकारिक वेबसाइटहरूमा नतिजा देख्न सकिने बोर्डको भनाइ छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको परीक्षाको नतिजा विगतका वर्षहरूको तुलनामा छिटो आएको हो। यसपटक परीक्षा केन्द्रहरूमा नै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकाले नतिजा प्रकाशनको काम छिटो सम्भव भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो।

यस वर्षको एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी रहेका थिए। सहभागी परीक्षार्थीहरूमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेको बोर्डले जनाएको छ। नतिजा सार्वजनिक भएसँगै अब विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ।


सम्बन्धित समाचार