२९ बैशाख, चितवन । चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष पनि उल्लेखनीय नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका सयौँ विद्यार्थीमध्ये ३७ जनाले उत्कृष्ट ४ जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक छवि थप उचो बनाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार यस वर्ष ३८० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् भने केवल एक जना विद्यार्थी ननग्रेडमा परेका छन् । उक्त विद्यार्थीको सामाजिक विषयमा ग्रेड नपुगेको जानकारी दिइएको छ ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार २१६ जना विद्यार्थीले ३.६ देखि ४ जिपिएसम्म प्राप्त गरेका छन् । त्यस्तै १०२ जनाले ३.२ देखि ३.६ जिपिए हासिल गरेका छन् । २१ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याउँदा ३ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन् ।
गत वर्ष केवल ७ जना विद्यार्थीले मात्रै ४ जिपिए ल्याएको अवस्थामा यस वर्ष ३७ जनाले पूर्ण जिपिए ल्याउनु विद्यालयका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ । विद्यालय प्रशासनले मेहनती विद्यार्थी, समर्पित शिक्षक र अभिभावकको निरन्तर सहयोगकै कारण यस्तो नतिजा सम्भव भएको जनाएको छ ।


















