२९ बैशाख, माडी (चितवन) । माडी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अबदेखि अपाङ्गता परिचय पत्र सम्बन्धित व्यक्तिको घरमै पुगेर वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।
यसअघि परिचय पत्र प्राप्त गर्न अपाङ्गता भएका व्यक्तिहरूले पटक–पटक नगरपालिका पुग्नुपर्ने बाध्यता रहेको थियो । शारीरिक अवस्था, आर्थिक समस्या तथा यातायातको कठिनाइका कारण धेरै सेवाग्राहीले सास्ती खेप्दै आएका थिए । नगरपालिकाले घरदैलोमै पुगेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरेपछि अपाङ्गता भएका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
सोही अभियान अन्तर्गत आज माडी नगरपालिकाका उपप्रमुख खेम प्रसाद महतो र महिला विकास निरीक्षक सन्ध्या उपाध्याय ले सम्बन्धित व्यक्तिको घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरेका थिए ।
उक्त अवसरमा उपप्रमुख खेम प्रसाद महतो ले अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक र सहज रूपमा सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । उनले घरमै पुगेर सेवा प्रदान गर्दा सेवाग्राहीको समय, खर्च र दुःख कम हुने उल्लेख गर्दै वास्तविक आवश्यकतामा रहेका नागरिकसम्म राज्यको सेवा प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गरे ।
अपाङ्गता परिचय पत्र प्राप्त गरेका सेवाग्राहीहरूले घरमै आएर सेवा दिइएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरूले पहिले सामान्य कामका लागि पनि पटक–पटक नगरपालिका धाउनुपर्ने बाध्यता रहेको भन्दै अहिले घरमै सेवा प्राप्त हुँदा आफूहरूलाई धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । विशेष गरी शारीरिक अवस्थाका कारण आवतजावतमा समस्या हुने व्यक्तिहरूका लागि यो सेवा निकै प्रभावकारी भएको उनीहरूको भनाइ रहेको छ ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले अपाङ्गता भएका नागरिकलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर परिचय पत्र वितरण कार्य सुरु गरिएको जानकारी दिए । उनले स्थानीय सरकार नागरिकको घरआँगनमै पुगेर सेवा दिने अवधारणाअनुसार आगामी दिनमा पनि यस्ता नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताए ।


















