२८ बैशाख, माडी (चितवन)। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । करार तथा ज्यालादारी कर्मचारीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले नगरपालिका उक्त कोषमा आबद्ध भएको हो ।
सोमबार नगर कार्यपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रमसँगै नगरपालिकामा कार्यरत १२६ जना करार तथा ज्यालादारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् । कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले माडी नगरप्रमुख ताराकुमारी काजी महतोलाई कोषमा आबद्धताको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको आधारभूत तलबबाट ११ प्रतिशत रकम कट्टा हुने व्यवस्था रहेको छ भने रोजगारदाताले थप २० प्रतिशत योगदान गर्नेछन् । यसरी कुल ३१ प्रतिशत रकम प्रत्येक महिना सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।
यस योजनामा आबद्ध श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्ध अवस्था सुरक्षा लगायतका सुविधा प्राप्त गर्नेछन् । नेपाल सरकारको व्यवस्था अनुसार निजी क्षेत्रका प्रतिष्ठान र त्यहाँ कार्यरत श्रमिकहरू पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान रहेको छ । साथै वैदेशिक रोजगारीमा रहेका नेपाली तथा स्वरोजगार व्यक्तिहरूले समेत यस कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले कर्मचारीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्दै श्रमिकमैत्री कार्य वातावरण निर्माण गर्ने उद्देश्यले नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी दिए । उनले आगामी दिनमा पनि कर्मचारी हितसँग जोडिएका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

















