Logo

२९ वैशाख,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला गरेको दाबी गरिएको छ। चर्चित अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नल ले प्रकाशित गरेको रिपोर्टमा यूएईले इरानको लावान द्वीपस्थित तेल रिफाइनरीलाई निशाना बनाएको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार अप्रिलको सुरुमा भएको उक्त हमलापछि रिफाइनरी क्षेत्रमा ठूलो आगलागी भएको थियो भने तेल उत्पादनसमेत लामो समय प्रभावित बनेको थियो। सोही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरिरहेका थिए। इरानले त्यतिबेला रिफाइनरी शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको थियो।

घटनापछि तेहरानले यूएई र कुवेतमाथि मिसाइल तथा ड्रोन हमला गरेको बताइएको छ। युद्धका क्रममा इरानले यूएईमाथि २ हजार ८ सयभन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको रिपोर्टमा उल्लेख छ।

यूएईले भने इरानमाथिको सैन्य कारबाही सार्वजनिक रूपमा स्वीकार गरेको छैन। तर यूएई विदेश मन्त्रालयले देशविरुद्ध हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ दिने अधिकार आफूलाई रहेको बताएको छ, जसमा आवश्यक परे सैन्य कदमसमेत समावेश हुने जनाइएको छ।

रिपोर्टअनुसार अमेरिका यूएईको उक्त कारबाहीप्रति असन्तुष्ट नरहेको उल्लेख गरिएको छ। युद्धविराम पूर्ण रूपमा लागू नभइसकेको अवस्थामा अमेरिकाले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूको भूमिकालाई मौन समर्थन गरेको दाबी गरिएको छ।

इरानसँग बढ्दो तनावका कारण यूएईको हवाई यातायात, पर्यटन तथा सम्पत्ति बजारमा समेत असर परेको बताइएको छ। कतिपय क्षेत्रमा कर्मचारी बिदा तथा छटनीको अवस्था समेत सिर्जना भएको जनाइएको छ।

यस घटनापछि यूएईले इरानलाई क्षेत्रीय स्थिरता र आफ्नो आर्थिक सुरक्षाका लागि खतरा मान्न थालेको विश्लेषण गरिएको छ। युद्धका क्रममा यूएईले अमेरिकासँग घनिष्ठ सैन्य सहकार्य कायम राखेको पनि रिपोर्टमा उल्लेख छ।

मार्च महिनादेखि नै यूएईको भूमिकाबारे विभिन्न अनुमानहरू भइरहेका थिए। इरानमाथि भएका केही हमलामा अमेरिका वा इजराइलका नभएका लडाकु विमान देखिएको दाबी गरिएको थियो। ओपन सोर्स अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेका तस्बिरहरूमा फ्रान्सेली मिराज फाइटर जेट तथा चिनियाँ विङ्ग लुङ ड्रोन देखिएको र ती उपकरण यूएईले प्रयोग गर्दै आएको उल्लेख गरिएको छ।

त्यसैगरी यूएईले संयुक्त राष्ट्रसंघमा इरानको होर्मुज स्ट्रेटमाथिको नियन्त्रण आवश्यक परे बल प्रयोग गरेर तोड्न सकिने प्रस्तावलाई समर्थन गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। साथै, दुबईमा इरानसँग सम्बन्धित विद्यालय तथा क्लबहरू बन्द गर्नुका साथै इरानी नागरिकको भिसा र ट्रान्जिट अधिकारमा समेत कडाइ गरिएको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै