२९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनालाई लिएर कडा आपत्ति जनाउँदै आधिकारिक जवाफ माग गरेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिँदै कांग्रेस प्रमुख सचेतक बासना थापाले लोकतान्त्रिक संसदीय अभ्यास र इतिहासमा यस्तो दृश्य विरलै देखिने भन्दै यसलाई सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठाका रूपमा चित्रण गर्नुभयो । उहाँले राष्ट्र प्रमुखले सरकारकै भावी योजनाहरू सुनाइरहँदा सरकार प्रमुख नै सदन छोडेर हिँड्नु सामान्य विषय नभएको उल्लेख गर्दै यसले संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्वमाथि नै प्रश्न उठाएको बताउनुभयो ।
लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र जनविश्वास हुने स्मरण गराउँदै कांग्रेसले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने माग अघि सारेको छ । प्रतिपक्षीको यो मागसँगै संसदमा सरकारी गम्भीरता र संसदीय शिष्टाचारबारे नयाँ बहस सुरु भएको छ ।


















