Logo

२९ बैशाख, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेश सभामा रिक्त रहेको सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ ।

यसअघि सो पदमा आसिन सांसद कञ्चन बिच्छाले पार्टीको अनुशासन उल्लङ्घन गरेपछि राप्रपाले उनलाई फिर्ता बोलाउने निर्णय गरी कारबाही गरेको थियो । पार्टीको कारबाहीविरुद्ध बिच्छाले कानुनी उपचार खोजे तापनि अदालतले उनको रिट खारेज गरिदिएपछि उनी सांसद पदबाट मुक्त हुनुभएको थियो ।

रिक्त रहेको उक्त स्थानमा नयाँ सदस्य मनोनयनका लागि निर्वाचन आयोगले पठाएको पत्रानुसार राप्रपाले सोही क्लस्टरको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरको नाम सिफारिस गरेको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, पार्टीको विधान र क्लस्टरको प्राथमिकताका आधारमा ठाकुरलाई प्रदेश सभा सदस्यका लागि चयन गरिएको हो ।

यो मनोनयनसँगै मधेश प्रदेश सभामा राप्रपाको प्रतिनिधित्व पुनः पूर्ण हुने भएको छ ।


सम्बन्धित समाचार