Logo

२९ वैशाख,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किँदा घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।

घटनामा गम्भीर घाइते भएका पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चरनजित यादवको मंगलबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यादवको मृत्यु भएपछि पीडित परिवार तथा स्थानीयवासीले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड केही समय अवरुद्ध बनेको थियो।

गत वैशाख २२ गते एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा विस्फोट भएको थियो। स्थानीयले उद्योग र ट्रान्सफर्मर मर्मतमा संलग्न कम्पनीको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै दुवै पक्षमाथि कारबाहीको माग गरेका छन्।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीका अनुसार अनुसन्धानका लागि अनमोल गुरुङ र सोनु यादवलाई नियन्त्रणमा लिइएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै