३० बैशाख, काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु हुँदैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संयुक्त सदनमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका संशोधन प्रस्तावहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दलीय आधारमा धारणा राख्नेछन् ।
नीति तथा कार्यक्रममाथिको छलफल र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आजै दिने गरी कार्यसूची तय गरिएको छ । छलफल सकिएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूका जिज्ञासा र संशोधन प्रस्तावका विषयमा सरकारको आधिकारिक धारणा राख्दै जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अघि बढाइनेछ । सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथि प्राप्त सुझावहरूलाई समेत ध्यानमा राख्दै आगामी जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्ने संवैधानिक तयारी गरिरहेको छ ।

















