३० बैशख, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिए संसद् बैठक बहिष्कार गर्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ
। बुधबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाउनुभएको हो । प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिए आफूहरूले त्यसलाई गम्भीर रूपमा लिने र बैठकमा सहभागी हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
सांसद केसीले प्रधानमन्त्री शाहले एकपछि अर्को गर्दै संसदीय मर्यादा, परम्परा र मूल्य पद्धतिहरूको उपेक्षा गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले तोकेको कुनै मन्त्रीले प्रस्ताव टेबल गर्ने परम्परा भए पनि अहिलेको अवस्थामा सदनकै अपमान भएको उहाँको तर्क छ ।
नीति तथा कार्यक्रममाथिको छलफल जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री पन्छिन खोज्नुले लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको विपक्षीको दाबी छ ।
यसका साथै, नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहेको समयमा समेत प्रधानमन्त्री उठेर हिँडेको प्रसङ्ग उठाउँदै कांग्रेसले उहाँको व्यवहारलाई गैरजिम्मेवारपूर्ण ठहर्याएको छ ।
प्रधानमन्त्रीले संसद्लाई दिएको उपेक्षा र अनुत्तरदायी कार्यशैलीले संसदीय व्यवस्थाको गरिमा घटाएको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्रीकै उपस्थिति र जवाफको मागलाई बटमलाइन बनाएका छन् ।


















