Logo

३० बैशख, काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको विवादित तथा असंसदीय शब्दहरूलाई संसद्को आधिकारिक रेकर्डबाट हटाइएको छ ।

बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ को खण्ड ‘घ’ को बर्खिलाप हुने गरी बोलिएका ती विषयहरू हटाउन संसद् सचिवालयलाई स्पष्ट रुलिङ गर्नुभएको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, जेनजी आन्दोलन र नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको थियो ।

उहाँले रास्वपालाई ‘अराजक भीड’ को संज्ञा दिनुका साथै नेपाली सेनालाई आफ्नै मुख्यालयमा धावा बोलिँदा मूकदर्शक बनेको र सुकुम्बासी बस्तीमा परेड खेलेको जस्ता कडा टिप्पणी गर्नुभएको थियो । यस्ता अभिव्यक्तिले सेनाको गरिमा र एक राजनीतिक दलको अस्तित्वमाथि प्रहार गरेको भन्दै रास्वपाका सांसदहरूले तत्काल रेकर्डबाट हटाउन माग गर्दै सदनमा आपत्ति जनाएका थिए ।

नियमावलीको प्रावधान र सभामुखको निर्णय

प्रतिनिधिसभा नियमावलीले सदनमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा असंसदीय शब्द प्रयोग गर्न निषेध गरेको छ । साथै, कुनै व्यक्ति, जाति, धर्म वा लिङ्गलाई होच्याउने गरी बोल्न नपाइने कानुनी व्यवस्था छ। नेता थापाले ती मर्यादाहरू उल्लंघन गरेको ठहर गर्दै सभामुखले बुधबारको बैठकमा उक्त रुलिङ सुनाउनुभएको हो

यसअघि एमालेले आफ्ना नेताको अभिव्यक्ति सच्याउने संकेत गरे पनि बादलले भने संसद्‌मा आफ्ना भनाइहरू दोहोर्‍याउनुभएको थियो, जसले गर्दा सदनमा थप विवाद उत्पन्न भएको थियो ।


सम्बन्धित समाचार